ओलीले बन्दसत्रमा प्रस्तुत गरे १९ जना पदाधिकारीको नाम, कुन पद कसले पाए?



साैराहा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्राप्त सर्वाधिकार प्रयोग गर्दै १९ जना पदाधिकारीको नाम बन्दसत्रमा प्रस्तुत गरेका छन् । उनले अध्यक्षमा आफ्नै नाम प्रस्ताव गरेका छन् भने वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका छन् ।

त्यस्तै, महासचिवको दाबेदारी गर्दै आएका विष्णु पौडेललाई उपाध्यक्ष बनाउने ओलीको प्रस्ताव छ । अन्य प्रस्तावित उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ छन् ।


त्यस्तै, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसब्बा गुरूङ, विष्णु रिमाल छन् ।

सचिवमा टोपमहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम प्रस्ताव गरिएको छ ।

यी सबै पदाधिकारीलाई भोलि निर्वाचन कार्यक्रमअनुसार मनोयनपत्र दर्ता गर्न पनि ओलीले आग्रह गरेका छन् ।

‘यसरी १९ जना पदाधिकारीहरुमा सहमति जनाउनका निम्ति म कमरेडहरुलाई हार्दिक आग्रह गर्न चाहन्छु’ ओलीले भने, ‘पदाधिकारीमा यी नामअनुसार नै साथीहरुले मनोनयन दर्ता गर्न पनि आग्रह गर्न चाहन्छु । अब कमरेडहरु निर्वाचन आयोगको नजिकै कार्यालयमा मनोनयन दर्ता गर्न, प्रस्तुत गर्नका लागि म आग्रह गर्न चाहन्छु । आजको यो सेसन यहीँ समाप्त हुन्छ ।’

केपी ओलीले सहमतिका लागि नामहरु प्रस्तुत गरिएको भने पनि ओलीको विरोध गर्दै आएका भीम रावल र घनश्याम भुसाल दुवैको नाम सूचीमा परेन । ३०१ केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्दा भने ओलीले भीम रावल र घनश्याम भुसाललाई पनि त्यसमा राखेका छन् ।