एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लोगो र नारा सार्वजनिक



काठमाडौं, २६ कात्तिक।नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेका हुन् ।

‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा रहेको छ भने लोगोमा गैँडाले पार्टीको झण्डा बोकेको छ । एमालेको १० औँ महाधिवेशन आगामी मङ्सिर १०–१२ गतेसम्म चितवनमा हुने तय भएको छ । महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन् । देशभरबाट महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने काम भइरहेको छ ।