एमसीसी पास गर्छौं भनेर पत्र पठाएका होइनौंः प्रचण्ड



काठमाडौं, १९ कात्तिक । । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित गर्ने भन्दै अमेरिकालाई पत्र नलेखिएको स्पष्ट पारेका छन् । देउसी खेल्न खुमलटारस्थित आफ्नो निवासमा आएको इन्द्रेणी परिवारको टोलीसँग अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्ने भन्दै अमेरिकालाई पत्र नलेखेको बताएका हुन् ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्ने भन्दै आफू र प्रचण्डले पत्र पठाएको बताएका थिए । प्रचण्डले एमसीसी सम्झौता पहिले सही नै भए पनि बीचमा थपिएका प्राबधानहरुले प्रश्न उब्जाएको बताए ।


उनले भने,‘ प्रचण्डजी र मैले चिठी पठाइसकेका छौं भनेर हिजो प्रधानमन्त्री शेरबहादुरजीले बोलिदिनुभएछ। देशैभरि साथीहरुको तरंग पैदा भएको छ । त्यस्तो चिठी पठाएको हैन । पछि प्रधानमन्त्रीजीले त्यस्तो भनेको त होइन भनेर आफैंले सच्याउनुभएको छ ।’

उनले एमसीसी सम्झौता नसच्याई पारित नहुने बताए । आफूहरुले सबै राजनीतिक दलहरूसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई यसलाई पारित गर्न नसक्ने बताएको जानकारी दिए । उनले भने,‘यसका लागि हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ, त्यसको निदान कसरी गर्न सकिन्छ, उपाय निकाल्छौँ भनेर लेखेको चिठी हो । हामी पास गर्छौं भनेर लेखेको चिठी होइन ।’

विदेशी सहायता स्वीकार गर्नु स्वभाविकै हुने भएता पनि एमसीसीमाथि प्रश्न उठेको प्रचण्डले बताए । उनले भने, ‘अनुदान सहयोग दिने र लिने कुरा सामान्य कुरा हो । तर यो एमसीसीमा यति धेरै बहस विवाद किन भयो भने पहिलो सुरुमा सहमति हुँदा यो एमसीसी सम्झौता संसदमा लानुपर्ने र संसदबाट अनुमोदन गर्नुपर्ने केही कुरा थिएन । अमेरिकाले सहयोग दिने र नेपालले लिने भन्ने मात्रै थियो । तर पछि केही विषय थप भएपछि समस्या भएको हो ।’

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले अहिलेको सत्ता गठबन्धन चुनावसम्मै जाने र चुनावमा सकेसम्म तालमेल गरिने बताए ।