काठमाडाैँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएका १५ मोटरसाइकल र आठ स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई बुझाएको हो । महाशाखाले उपत्यकाको चक्रपथ, नयाँ बानेश्वर, वसुन्धरा, पुरानो बानेश्वर, नारायणटार, नागार्जुन, सातदोबाटो, कोटेश्वर, काँडाघारी, भैँसेपाटी, कपन, सानेपा, माकलवारी, टोखालगायतका स्थानबाट हराएका मोटरसाइकल एवं स्कुटर आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।
कार्यक्रममा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले सादा पोशाकमा खटिएको प्रहरी टोलीले विशेष सूचना सङ्कलन तथा सुराकीमार्फत मोटरसाइकल बरामद गर्दै आएको जानकारी दिए । उनले एकान्त ठाउँमा पार्किङ नगर्नसमेत सवारी धनीलाई आग्रह गरे । महाशाखाले चालू आर्थिक वर्षमा उपत्यकाका विभिन्न स्थानबाट हराएका १७६ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न २१ जनालाई पक्राउ गरी कारबाहीका लागि उपत्यकाका विभिन्न वृत्तमा पठाइसकेको छ ।