कास्की । पर्यटकीय सहर पोखराको लेकसाइडमा आज एकाबिहान आगलागी हुँदा पाँच पसलमा क्षति पुगेको छ ।
बिहान फेवाताल किनार फुटट्रयाकमा रहेको एक पसलबाट सुरु भएको आगलागीबाट सँगैका पाँच पसल जलेका हुन् । रेष्टुराँ, खाजा पसल र जुस सेन्टरलगायतका पसलमा आगलागीले क्षति पु¥याएको वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक चिनिमायाँ तामाङले जानकारी दिए । प्रहरीले आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।
दमकलको सहायतामा प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए । प्रारम्भिक अनुसन्धानमा रु एक करोड ५० लाख मूल्य बराबरको क्षति पुगेको जनाउँदै उनले भने, “आगलागीबाट भएको क्षतिको मुचुल्का गर्ने काम भइरहेको छ । विद्युत् सर्ट भएर हो वा अन्य कारणबाट आगलागी भयो भनेर हामीले अनुसन्धान गरिरहेका छौँ ।”