पाल्पा बुटवल सडकखण्ड पन्ध्र दिन बन्द हुने



पाल्पा, २४ कात्तिक। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्ड १५ दिन बन्द गरिएको छ । सो राजमार्गको पाल्पा तानसेन बुटवल सडकखण्ड बिस्तार गर्नुपर्ने भएको हुँदा रातको समयमा १५ दिन सडक बन्द गरेर काम गरिँदैछ । कात्तिक २२ गतेदेखि मङ्सिर ६ गतेसम्म हरेक दिन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द हुने जनाइएको छ ।

दोभान प्रहरी चौकी आसपासमा सडक चौडा गर्न रातको समयमा सडक पूर्णरुपमा बन्द गरिएको हो । दिउँसोको समयमा सवारी चाप बढी हुने भएकाले रातको समयमा काम गर्न लागिएको सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिए । सो समयमा सुरक्षा र एम्बुलेन्सबाहेकका सबै सवारी रोकेर काम गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।