थलारा गाउँपालिकाको स्वास्थ्य शाखामा आगलागी



बझाङ, २ मङ्सिर । बझाङको थलारा गाउँपालिकाको स्वास्थ्य शाखामा विद्युत् सर्ट भई आगलागी भएको छ ।

आज बिहान ११ः३० बजे स्वास्थ्य शाखाको स्टोरमा विद्युत् सर्ट भई आगो लाग्दा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगोले स्वास्थ्य शाखाको स्टोरमा भण्डारण गरिएको औषधि, सर्जिकल सामान, स्वास्थ्यचौकीले वितरण गर्न ल्याएको पाँच÷पाँच थान ल्यापटप, प्रिन्टर, डेस्कटप कम्प्युटर जलेर नष्ट भएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो निभाइएको थियो । आगलागीबाट स्वास्थ्य शाखा भवनसँगै रहेको कर्मचारी आवासमा पनि क्षति पुगेको गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए ।


उपाध्यायका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम ओली, सबओभरसियर चक्रबहादुर थापा र खानेपानी तथा सरसफाइ सहजकर्ता भोजराज पाण्डे बस्ने तीन कोठामा रहेका ओड्ने ओछ्याउने, लगाउने कपडालगायत सबै सामान जलेर पूर्णरूपमा नष्ट भएका छन् । गाउँपालिकाले घर भाडामा लिएर स्वास्थ्य शाखा सञ्चालन गरिरहेको थियो । आगलागीबाट के–कति क्षति भयो भन्नेबारे यकिन भएको छैन । क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।