थप ३१७ मा काराेना सङ्क्रमण, २७९ सङ्क्रमणमुक्त



काठमाडाैं, २५ कात्तिक। देशभर पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार ६५३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १६ हजार ६० पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९४ हजार ९९५ छ ।


यस्तै पछिल्लो २४ घण्टामा थप २७९ जना काराेना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९७ हजार ५९ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप छ जनाले काेराेना सङ्क्रमणका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९६ पुगेको छ भने अहिले यस रोगबाट हुने मृत्युदर १.४ प्रतिशत छ ।

त्यसैगरी पछिल्लो समय चार हजार ५१६ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ५३५ रहेको छ । होम आइसोलेसनमा सात हजार १०, संस्थागत आइसोलेसनमा ५२५, आइसीयुमा १८८ र भेन्टिलेटरमा ५४ जनाले उपचार गराइरहेका छन् ।