आगामी निर्वाचनसम्म गठबन्धन कायम रहन्छ –अध्यक्ष नेपाल



चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् ।

जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा आज यहाँ बोल्दै उनले राष्ट्रियसभा, उपनिर्वाचनसहित आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताए । उनले भने “नेकपा एमालेलाई धुलो चटाउने छौँ ।” जनताको हित र देशको हितका लागि एकीकृत समाजवादी पार्टी निर्माण गरिएको बताउँदै उनले उच्च मनोबलका साथ अघि वढ्न कार्यकर्तालाई निर्देशन दिए । देशमा असम्भव ठानिएका काम आफ्नो नेतृत्वमा भएको भन्दै उहाँले अब समाजवादी पार्टीलाई मजबुद बनाउने कामसमेत आफ्नै नेतृत्वमा आएको बताए ।


उनले भने, “कर्तव्यनिष्ठ र समर्पित भएर पार्टीमा लाग्नुस्, जानताको साथ हामीमा हुने छ ।” यस पार्टीमा लागेर के पाइन्छ भन्ने नभई देश र जनतालाई केही गर्छु भन्ने भावना लिएर आउन उनले कार्यकर्तालाई आग्रह गरे । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णराज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, आन्तरिक मामिला मन्त्री कृष्ण खनाल, पार्टीका प्रवक्ता जगन्नाथ खतिवडालगायतले बोलेका थिए ।