प्रधानन्यायाधीशले आफ्नो इजलासबाट गरे पाँच मुद्दामा आदेश जारी



१० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा आज सुनुवाइ भएको छ ।

अरु इजलासमा भने सुनुवाइ हुन सकेको छैन । सोमबार र मङ्गलबार कुनै पनि मुद्दामा सुनुवाइ हुन सकेको थिएन । प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलाससहित अन्य न्यायाधीशलाई पनि पेसी तोकेका छन् । ती कुनै पनि बेन्चमा सुनुवाइ भएको छैन ।


सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले आफ्नो इजलासबाट पाँच मुद्दामा आदेश जारी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालास तोकेका थिए । त्यहीमध्ये आफ्नो एकल इजलासबाट उनले उक्त पाँच मुद्दाको आदेश जारी गरेका हुन् । ​उनले एउटा मुद्दा तामेलीमा राख्ने आदेश, एउटामा निवेदन फिर्ता, दुइटामा कारण देखाउ आदेश र एउटामा कैफियत प्रतिवेदन माग्ने आदेश गरेका हुन् ।

अरू न्यायाधीश भने इजलास बसेका छैनन् । प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरुले इजलास सुनुवाइ गर्न इन्कार गरेका छन् । प्रधानन्यायाधीशबारे  धारणा बनाउन उनीहरू छलफलमा जुटेका छन् । 

प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी दिएकाले त्यो पूरा गर्न आफू सक्षम रहेको बताएका छन् । उनले न्यायाधीशहरुलाई संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका छन् । अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । त्यसले गर्दा पालोमा टाढा–टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् ।