सर्पको डसाइबाट एकको मृत्यु



३० असाेज । विषालु सर्पको डसाइबाट (टोकेर) आज बिहान ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका एक युवकको मृत्यु भएको छ ।

फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानीको मृत्यु भएकाे हाे । उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी राकेश यादवले जानकारी दिए ।


दसैँको टीकाको दिन शुक्रबार राति ८ बजेतिर घतानीलाई सर्पले डसेको थियो । अचानक हातमा सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराएका थिए । झारफुक र घरेलु औषधि गरे पनि सर्पको विषले जटिल बनाउँदै लगेपछि आज बिहान उनका आफन्तले घतानीलाई जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए ।

अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यता उपचारका क्रममा मृत्यु भएका घतानीको शव आफन्तले बुझेका पनि प्रहरी निरीक्षक यादवले जानकारी दिए ।