‘विवादमा तानिएका सबैले राजीनामा दिए म पनि तयार छु’ -प्रधानन्यायाधीश जबरा



९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा नदिने न्यायाधीशहरूलाई जवाफ दिएका छन् । मंगलबार सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरूसँगको छलफलमा प्रधानन्यायाधीश जबराले आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक हिसाबले नै बाहिरिने बताएछन् ।

आजको छलफलमा न्यायाधीशहरूले प्रश्न उठेको बताउँदै सम्मानजनकरूपमा मार्ग प्रशस्त गर्न प्रधानन्यायाधीशलाई आग्रह गरेको सर्वोच्च स्रोतले बताएकाे छ। जवाफमा जबराले बाहिरबाट दबाब आयो भन्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका थिए । प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै सर्वोच्च स्रोतले भन्यो, ‘मेरो नियुक्ति संविधानअनुसार भएको हो । मेरो बहिर्गमन  पनि संविधान बमोजिम नै हुन्छ । बाहिरबाट दबाब आयो भन्दैमा राजीनामा दिने कुरा हुँदैन । केही श्रीमान्को विषयमा पनि प्रश्न उठेका छन् । के तपाईंहरु राजीनामा दिन सक्नुहुन्छ ? तपाईंहरु राजीनामा दिनुहुन्छ भने म पनि दिन्छु ।’


प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् । प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै सर्वोच्च स्रोतले भन्यो, ‘सडकको दबाबबाट न्यायालय चल्दैन । यसरी राजीनामा दिन थाल्यो भने न्यायालय बच्दैन । म पदमा रहुञ्जेल संवैधानिक दायित्व पुरा गर्न तयार छु । तपाईंहरुले पनि आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’