वडा अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न ओलीको निर्देशन



६ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दावी गरेका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल रुपमा वडा अधिवशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले उन्नत स्तरको समझदारीका साथ देशभरका सबै वडा अधिवेशनहरु सम्पन्न हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले एमालेले सामना गरिरहेको चुनौती सामना गर्न पनि सर्वसम्मतिको बाटोमा जानुपर्ने बताए । उनले भने,‘ विपक्षीहरु किन एमालेको विधान महाधिवेशनमा विवाद भएन भनेर भनिरहेका छन् । हामी सर्वसम्मतिबाटै जानुपर्छ । विरोधीहरुको चाहना र उनीहरुलाई खुसी पार्ने काम गर्नु हुँदैन ।’ ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई प्रतिक्रियावादीहरुको झुण्ड भएको आरोप लगाए ।


उनले सरकार गठन भएको तीन महिनाको अवधिमा यो गठबन्धन दक्षिणपन्थी अवसरवादीहरुको भएको पुष्टि भएको बताए । उनले भने, ‘यो गठबन्धन देशलाई अस्थीरतामा धकेल्नका लागि बनाइएको हो । यो तीन महिनाबाटनै देखिन्छ । यो अग्रगमनको नभई प्रतिगमनको बाटो हो भनेर । अहिले भइरहेका गतिविधिका विरुद्ध प्रतिवाद गर्नुपर्छ । आगामी निर्वाचनमा शानदार ढंगले बहुमत ल्याउन सक्छौं । त्यसतर्फ सबै नेता कार्यकर्ता लाग्नुपर्छ।’

उनले एमालेलाई सरकारबाट हटाएपछि एमाले युगको अन्त्य भयो भन्नेहरुको स्वर सानो हुँदै गएको बताए । उनले भने,‘एउटा हल्ला चल्यो अस्ती अहिले तिनका आवाज सुक्दै गएका छन् । एमालेलाई सरकारबाट हटाएपछि एमाले युगको अन्त्य भयो भनेर हल्ला चलाए । तर ती हल्लाहरु बलेसीका पानीका फोका रहेछन् भन्ने स्पष्ट भएको छ । उनीहरुले हामीलाई चरित्र हत्या गर्न खोजे ।’ देशभरका ६ हजार ७४३ वडामा अधिवेशन हुँदैछ । बाढी पहिरोका कारण प्रभावित केही वडामा भने अधिवेशन पछि हुनेछ ।