भीम रावलद्वारा १० बुँदे सहमति कार्यान्वयन कार्यदलबाट राजीनामा



नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि भएको १० बुँदे सम्झौता कार्यान्वयनका लागि बनेको कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन् । कार्यदलको सदस्य समेत नरहने गरी राजीनामा दिने घोषणा गरेको उनले बताए । तत्कालीन माधव समूह र ओली समूहबीच १० बुँदे सहमति भएको थियो ।

सो सहमति भए पनि माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) बनाउँदै एमाले विभाजन गराएका छन् । तर, उनलाई साथ दिँदै आएका भीम रावलहरु भने एमालेमै बसेका थिए ।


रावलले १० बुँदे अक्षरंश कार्यान्वयन हुनुपर्ने बताउँदै आएका थिए । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले रावलकै संयोजकत्वमा कार्यदल बनाएका थिए । तर, रावलकै हकमा १० बुँदे कार्यान्वयन नभएपछि असन्तुष्ट भएका उनले शुक्रबार राजीनामा दिने घोषणा गरेका हुन् ।