बसपार्क सञ्चालनमा ढिलाइ



१७ असोज । आधुनिक बसपार्क निर्माण गरेका स्थानमा केही वर्ष अघिसम्म लहलह धान झुल्थे । जिल्लामा व्यवस्थित बसपार्कको अभाव देखेका स्थानीयवासीले बागलुङ नगरपालिकालाई आफ्नो धान फल्ने खेतमा निःशुल्करूपमा बसपार्क निर्माण गर्न दिन तयार भए । फलस्वरुप बागलुङमा आधुनिक बसपार्क निर्माण गर्ने सपना १९ वर्षपछि पूरा त भयो । आधुनिक बसपार्क सञ्चालनमा भने अझै केही चुनौती बाँकी नै छन् । यसले बसपार्क सञ्चालन र व्यवस्थापनमा केही समय अझै घर्किने सङ्केत देखिएको छ ।

सो बसपार्क सुविधासम्पन्न र नमूना डिजाइनमा तयार पारिएको छ । सो स्थानमा पुग्ने सडक तथा जग्गादाताका लागि घडेरी व्यवस्थापनले बसपार्क सञ्चालनमा भने केही कठिनाइ देखाएको छ । यसलाई राष्ट्रिय राजमार्गले नछुँदा, बसपार्क पुग्ने सडक साँघुरो हुँदा र सम्झौताअनुसारको घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा सञ्चालमा ढिलाइ भइरहेको छ । मध्यपहाडी लोकमार्ग र बेनी–बागलुङ सडक नजिकै बसपार्क निर्माण भए पनि बस्तीको बीचमा साँघुरो सडक हुँदै जानुपर्ने भएकाले ठूला बस सञ्चालनमा कठिनाइ हुँदा वैकल्पिक मार्ग तयार गर्नुपर्ने नगरपालिकालाई चुनौती छ ।


बसपार्क निर्माणका लागि बागलुङ बजारवासीले उपल्लाचौरका दाबगरामा व्यक्तिगत जग्गा नगरपालिकालाई हस्तान्तरण गरेको १९ वर्षपछि बसपार्क निर्माण गरे पनि अन्य जग्गामा बस्ती व्यवस्थापनका लागि उपर्युक्त घडेरी व्यवस्थापन गरी जनतालाई फिर्ता गर्ने कार्यमा ढिलाइ भएको जनाइएको छ । लामो समय सरकारी उदासिनताका कारण अलपत्र परेको बसपार्क निर्माण जनप्रतिनिधिको आगमनसँगै विसं २०७५ मा नगरपालिकाको पहलमा गति लिएको थियो । गत असारमै सम्पन्न भएको बसपार्क कहिले सञ्चालनमा आउला भन्ने चिन्ता र चासो स्थानीयवासीमा छ ।

स्थानीयवासीले उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साढे १७ रोपनी जग्गामा बसपार्क र अन्य जग्गामा व्यवस्थित बसोबासका लागि १२७ वटा घडेरी निर्माण गरेर स्थानीयवासीलाई फिर्ता गर्नुपर्ने छ । नगरपालिकाले घडेरी व्यवस्थापनाका लागि पटक–पटक बजेट विनियोजन गर्दै आएको र छिट्टै बसपार्क सञ्चालनमा ल्याउने नगरप्रमुख जनकराज पौडेलले बताए । उनले व्यवस्थित घडेरी निर्माण गरी स्थानीय जग्गादातालाई हस्तान्तरण गरिने बताए ।

“ठूलो चुनौतीका बाबजुद नगर विकास कोषबाट ऋण लिएर बसपार्क निर्माण गरेका हौँ, स्थानीयवासीले दिएको जग्गामा सम्झौताबमोजिम बसपार्क बनाएको र बाँकी रहेको जग्गालाई व्यवस्थित गरी दातालाई बुझाइनेछ, केही समय लाग्ला छिट्टै बसपार्क सञ्चालनमा आउनेछ”, उनले भने, “जग्गा व्यवस्थापनका लागि नगरपालिकाले हालसम्म रु एक करोड ३५ लाख बजेट विनियोजन गरिसकेको छ, बसपार्क चलाउँदै घडेरी बनाउँदै लैजाने योजना छ ।” उनका अनुसार सुरुमा घडेरी निर्माण गर्न रु ४० लाख, पर्खाल लगाउन रु २० लाख दिइसकिएको छ, चालु आार्थिक वर्षमा रु ७५ लाख बजेट विनियोजन गरेको र यसपटक घडेरीले आकार लिने उनको भनाइ छ ।

बसपार्क रु आठ करोड ७० लाखमा निर्माण गरिएको हो । बसपार्कबाहेकको जग्गा हस्तान्तरणमा केही ढिलाइ भए पनि नगरपालिकाले बजेट विनियोजन गरेर काम भने गरिरहेको जग्गादाता तथा बसपार्क जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले जानकारी दिए । “ढिलो भएको हो, तर काम नभएको भन्ने होइन, बसपार्क बनाइसकेकाले सञ्चालनमा ल्याउनु पर्दछ, घडेरी बनाउँदै लैजानु पर्दछ”, उनले भने, “होटल रेड एप्पल आसपासको बाटो र कटहरको बोटको बाटोलाई एकतर्फी बनाएर बसपार्क सञ्चालनमा ल्याउन आवश्य छ ।”

लहलह धान फल्ने खेत नगरपालिकाको नाममा दिएको लामो समयसम्म बसपार्क निर्माण नहुँदा जग्गादाता निराश भए पनि अहिले बसपार्क बनेकामा खुसी भएको जग्गादाता गुणनिधि शर्माले बताए । अब छिट्टै बाँकी रहेको जग्गा जग्गाधनीको नाममा आउनुपर्नेमा उनको जोड छ । व्यवस्थित आधुनिक बागलुङ बसपार्कमा ६० ठूला बस, १० माइक्रोबस एकैसाथ अटाउन सक्नेछन् । टर्मिनल भवनको भुइँतलामा कार तथा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ ।