फेसबुकद्वारा कम्पनीको नाम परिवर्तन, नयाँ नाम ‘मेटा’



१२ कात्तिक । सामाजिक सञ्जाल फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेर ‘मेटा’ राखेको छ । फेसबुकले नयाँ नामले नयाँ नयाँ कामको विषयमा जानकारी गराउने बताएको छ । साथै, फेसबुले सामाजिक सञ्चार माध्यमको क्षेत्रमा भर्चुअल रियालटी जस्ता क्षेत्रमा आफ्नो कामको दायरा बढाउन लागेको छ । फेसबुकले केही समयअगाडि मात्रै ‘मेटावर्स’ को विकासका लागि युरोपमा १० हजार मानिसहरुलाई नियुक्त गर्ने जानकारी गराएको थियो  । फेसबुकका प्रमुख मार्क जकरबर्गले “मेटाभर्स“ बनाउने योजनाहरू सार्वजनिक गर्दै कम्पनीको नयाँ नाम घोषणा गरेका हुन् ।

मेटाभर्स एउटा यस्तो अनलाइन दुनियाँ हो जहाँ मानिसहरूले भीआर हेडसेटको प्रयोग गरेर काम गर्न, खेल खेल्न वा सञ्चारका लागि प्रयोग गर्न सक्छन् । उनले अहिलेको नामले सम्भवत आफूहरूले अहिले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने भएकाले नाम परिवर्तन गर्नुपरेको बताए । कम्पनीले बिहीवार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा नयाँ लोगो पनि सार्वजनिक गरेको छ।


जकरबर्गले भने, ‘हामी अहिले हाम्रो व्यापारलाई दुई भागमा छुट्याएर काम गर्न खोजिरहेका छौं। एउटा हाम्रो एपहरूको लागि र अर्को भावी प्लेटफर्ममा हामीले काम गर्न खोजिरहेका छौं।’ यसअघि बुढी औँला माथितिर फर्किएको “लाइक“ लोगो थियो भने कम्पनीको नाम परिवर्तन भएसँगै लोगोलाई परिवर्तन गरेर इनफिनिटी आकार बनाइएको छ।