प्रदेशस्तरीय भलिबल प्रतियोगितामा डोटी विजयी



२३ असाेज । धनगढीमा आयोजित प्रथम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ । फाइनल खेलमा आज डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो । उपाधिसँगै डोटीले पुरस्कार स्वरुप नगद एक लाखसहित ट्रफी पाएको छ । डडेल्धुराले नगद ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ ।

प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने कैलाली र कञ्चनपुरको भलिबल टोलीले समान रु २५÷२५ हजारसहित ट्रफी पाएका छन् । विभिन्न विधाका उत्कृष्ट खेलाडी पनि पुरस्कृत भएका छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी डोटीका प्रसान्त साहु घोषित भइ पुरस्कृत भए । त्यसैगरी कञ्चनपुरका सन्तोष महता उत्कृष्ट ब्लकर, कैलालीका महेश खत्री उत्कृष्ट लिफ्टर, डडेल्धुराका वीरबहादुर विक उत्कृष्ट स्पाइकर र डोटीका प्रशिक्षक अनिल जोशी उत्कृष्ट प्रशिक्षक घोषित भइ पुरस्कृत भएका छन् ।


प्रतियोगिताका विजयी खेलाडीलाई सामाजिक विकास मन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंह लगायतले पुरस्कार वितरण गरेका थिए । खेलकुद परिषद्को वार्षिक कार्यक्रमअनुसार भएको प्रतियोगितामा प्रदेशका सबै नौ जिल्लाका भलिबल टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताबाट उत्कृष्ट खेलाडीलाई समेटेर तयार गरिने सुदूरपश्चिम प्रदेशको भलिबल टोलीले प्रदेशको प्रतिनिधित्व गर्दै आगामी दिनमा हुने राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी गराउने खेलकुद परिषद्ले जनाएको छ ।