थप ६६६ जनामा सङ्क्रमण पुष्टि, ११ काे मृत्यु



९ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ६६६ मा सङ्क्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा १२ हजार २० मा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार २९६ रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.५ प्रतिशत रहेको छ । सङ्क्रमित शून्य रहेको जिल्ला मुगु मात्र रहेको छ ।


पछिल्लो २४ घण्टामा ६२२ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८८ हजार ६३० रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ ।

यसैगरी आज कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३७२ को मृत्यु भएको छ ।

अहिलेसम्म ८६ लाख ३२ हजार २९३ पहिलो मात्रा र ६७ लाख नौ हजार ९०५ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।