थप ५४५ जनामा सङ्क्रमण पुष्टि, ८ काे मृत्यु



४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ५४५ मा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ५४९ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित ११ हजार ३१५ जना रहेका छन् ।


पाँचसय भन्दाबढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला १५ रहेका छन् । पाँचसयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.६ प्रतिशत रहेको छ । सङ्क्रमित शून्य रहेका जिल्ला मुस्ताङ र मुगु रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७२६ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८४ हजार ८८१ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३२६ जनाको मृत्यु भइसकेकाे छ ।

आज २३ हजार ५६८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ८१ हजार १९५ पहिलो मात्रा र ६५ लाख ४६३ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।