अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधान्यायाधीशलाई सफाइ



१५ असाेज । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशलाई सफाइ दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले मागदाबी नपुग्ने फैसला सुनाएको हो ।

पहिलोपटक प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक भएको दाबी गर्दै विज्ञप्ति जारी गरेको आधारमा पूर्वप्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो ।


अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै अधिवक्ता धनजीत बस्नेतले चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

उनीहरुको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको इजलासले स्वयं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश गरेको थियो। सर्वोच्चको आदेशअनुसार प्रधानमन्त्री र पूर्वप्रधानन्यायाधीशहरु सर्वोच्च उपस्थित भएर लिखित जवाफ बुझाएका थिए ।