बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै



१० कात्तिक । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन् । मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा परेकी शाक्यले दुई महिनापछि प्रदेश सभाबाट विश्वासको मत लिँदै छिन् । गत असोज २४ गते प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरेको थियो ।

प्रस्तावमाथि प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेश सभाका सदस्यहरूसँग आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेकी थिइन् । गठबन्धनका दलहरू नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालका नेताहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।


उनीहरुले विश्वासको मतको विपक्षमा मतदान जनाएका थिए । आज पनि प्रस्तावको विपक्षमा बोलेका प्रदेश सभाका सदस्यहरूको प्रश्नको मुख्यमन्त्री शाक्यले जवाफ दिने छिन् । हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ सदस्य आवश्यक हुन्छ ।

प्रदेश सभाका सदस्य रहेको एमालेका १३ जना प्रदेश सभाका सदस्यले एकीकृत समाजवादी रोजेसँगै एमाले सभामुखसहित ४३ सदस्यमा सीमित बन्दै प्रदेश सभामा बहुमत गुमाएको छ । गठबन्धनबाट आगामी मुख्यमन्त्रीमा प्रस्तावित एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेको पक्षमा ५९ जना सांसद छन् । माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना प्रदेश सभाका सदस्यले मुख्यमन्त्री शाक्यको विपक्षमा मतदान गर्ने भएका छन् ।