पदमा पुगेपछि सभापति देउवाले काम गर्न सक्नुभएनः प्रकाशमान सिंह



२० असाेज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यसपटक आफू सभापति पदमा उम्मेदवारी दिने बताएका छन् । नागार्जुन नगर समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सिंहले  २०७२ सालमा भएको १३ औं महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको भन्दै यसपटक आफूलाई सघाउन आग्रह गरे ।

उनले भने, ‘१३ औं महाधिवेशनमा मैले रामचन्द्र पौडेललाई छाडेकै हो । म पहिले महामन्त्री जितेको हुँ। बिपीको छोरा महामन्त्री उठ्ने भनेर म नै त्यसबेला शशांक कोइरालाको प्रस्तावक बसेँ।’ उनले नेताहरूमा पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको बताए। पदमा पुगेपछि सभापति शेरबहादुर देउवाले काम गर्न नसकेको उनले बताए । उनले भने, ‘अहिलेको सभापतिलाई हेर्नुस् न, चार वर्षसम्म पनि विभाग गठन गर्न सक्नु भएन ।’


कांग्रेसमा अहिले ए कांग्रेस, बी कांग्रेस र सी कांग्रेस रहेका भन्दै उनले नेपाली कांग्रेस जनताले खोजेको बताए । जनताले खोजेजस्तो नेपाली कांग्रेस १४ औं महाधिवेशनपछि आउने सिंहको भनाइ थियो । आफूलाई नेता तथा कार्यकर्ताहरूले अगाडि बढ्न भनेको पनि उनले बताए। ‘गणेशमानको छोरा भन्छौं पार्टीलाई राम्रो गर्नुपर्यो भनेर मलाई कार्यकर्ताहरूले भनेका छन्,’ उनले भने, ‘प्रजातन्त्र जोगाउनुपर्यो। पार्टी संस्थागत गर्नुपर्यो। जनतालाई सहयोग गर्नुपर्यो भन्ने हो। मलाई पदमा पुगेर पैसा कमाउनु छैन।’

उनले पार्टीमा यतिका वर्ष काठमाडौं बाहिरका नेताहरू सभापति भनेको र यसपालि काठमाडौंलाई नेतृत्व गर्न दिइनुपर्ने बताए । ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ? के हामी सधैं अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने? त्याग नै त्याग भनेर मात्र हुन्छ ? यतिका वर्ष काठमाडौं बाहिरले नेतृत्व गरेको अब पालो काठमाडौंको हो,’ उनले भने ।