आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी



२२ असाेज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्।

सरकार बनेको करिब तीन महिनापछि शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाउन लागेकाे हाे । २९ असारमा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि किस्ता किस्तामा गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए ।


२५ सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री देउवाले पाँच जनाको भरमा तीन महिना मुलुक हाँकेका थिए । शुक्रबार भने मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेको स्राेतले जनाएकाे छ ।

बिहीबार बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनमा मन्त्रालय भागबन्डामा सहमति जुटेको थियो। माओवादीबाहेक दलहरूले मन्त्री छान्न आन्तरिक गृहकार्य गरिरहेका छन्।

सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ । माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले ४–४ मन्त्रालय पाएका छन् ।

नेकपा (एकीकृत समाजवादी) ले मन्त्री छान्ने अधिकार सचिवालयलाई दिएको छ भने जसपाले शीर्ष नेतालाई दिएको छ। स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम मन्त्रालय एसमाजवादीले पाउने भएको छ। जसमध्ये स्वास्थ्य मन्त्रीमा रामकुमारी झाँक्रीको चर्चा छ।