‘माधव नेपालले लिएको बाटो ठिक छैन, फर्केर आउनुस्’- अष्टलक्ष्मी शाक्य



३१ भदाै । अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको बताएकी छन् । बिहीबार काठमाडौ जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले नेता नेपाललाई फुटको लाइन ठीक नभएको भन्दै एमालेमै फर्कन आग्रह गरेकी छन् ।

‘मेरो प्रस्ट धारणा छ । माधव नेपालले लिएको बाटो ठिक होइन, अहिले फुटको होइन, जुटको राजनीति र सुदृढ एमालेको आवश्यक्ता छ’, शाक्यले भनिन्, ‘माधव नेपाल हाम्रो नेता हो, तर आज जीवन त्याग गरेको पार्टी छोडेर आन्दोलन अघि बढाउँछु भन्नुभएको छ यो ठिक होइन, फेरि समिक्षा गर्नुस्, फर्केर आउनुस्, तपाईको भुमिका एमालेमा अझै आवश्यक छ । पार्टी विभाजन गरेर फाइद हुन्न।’’


‘आफूले दु:ख गरेको पार्टीमा फर्किनुस् । समीक्षा गर्नुस् । सुदृढ एमाले बनाउन तपाईको भूमिका छ। त्यो पंक्तिलाई अलमलाएर राख्नु ठिक छैन, १० बुँदेले आधार बनाएको छ। त्यसलाई मानेर अगाडि बढ्नुपर्छ’, उनले भनिन् ।

उनले टुटफुट र जुटबाट गुज्रँदै यहाँ आएको एमालेको आजको आवश्यक्ता भनेको ‘सुदृढ नेकपा एमाले’ भन्दै यसलाई बलियो र विचार युक्त बनाउन विचारबाट विचलित हुन नहुने बताइन् । उनले अब एमाले कहिल्यै पनि विभाजन हुन नहुने बताइन्। 

उनले १० बुँदे सहमति अक्षरस पालना गर्न नेतृत्वलाई आग्रह पनि गरिन्। ‘हामी २ जेठ २०७५ मा फर्किएका छौँ । अन्तरपार्टी निर्देशन पनि जारी भएको छ । यसको अक्षरस पालना गरेर अघि बढ्न म नेतृत्व तहका कमरेडहरूलाई पनि आग्रह गर्छु।   विभाजन र अलग-अलग भएर कसलाई फाइदा भयो र?,’ उनले भनिन् ।