मन्त्रीहरुको नाम टुंग्याउन गठबन्धनका नेतालाई प्रधानमन्त्रीको आग्रह



२३ भदाै । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलसँग मन्त्रीको नाम मागेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीको नाम दिन आग्रह गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्रीले मन्त्रीको नाम दिन आग्रह गरेको जानकारी दिइन् । उनले भनिन्, ‘मन्त्रिपरिषद् छिट्टै विस्तार गर्नुपर्यो । त्यसका लागि मन्त्रीको नाम दिनुभयो भने छिट्टै गर्नसकिने कुरा प्रधानमन्त्रीले राख्नुभयो । अरु दलका नेताहरुले पनि मन्त्रिपरिषद् बिस्तार छिट्टै गर्नुपर्नेमा एकमत राख्नुभयो।’


उनका अनुसार पार्टीमा छिट्टै छलफल गरेर नाम दिने सहमति पनि बैठकमा भएको छ । बैठकमा अध्यादेश टेबुल गर्ने र गठबन्धनलाई मजबुत बनाएर लैजाने विषयमा पनि छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष पौडेल सहभागी थिए । सत्तारुढ गठबन्धनको बैठक आज साँझ ६ बजे पुनः बस्ने पौडेलले जानकारी दिइन् ।