भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल



३० भदाै । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ । हिन्द टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

हल्दियाबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।


२०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपाललमा सेवा दिंदै आएको थियो । रेल सेवा सम्झौता पुनरावलोकन सम्झौतामा गत जुलाई २०२१ मा भएको दुई देश बीचको सहमतिपछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको थियो । 

नेपाल र भारत सरकारबीच भएको पारवहन सम्झौताअनुसार भारतीय निजी रेल कम्पनीले नेपालमा ढुवानी सुरु गरेको हो । सम्झौता भएको करिब दुई महिनापछि निजी कम्पनीले सञ्चालन गरेको रेल नेपालमा सामान ढुवानी गर्न आइपुगेको बताइएको छ ।

योसँगै नेपाल आउने सामान ल्याउने कार्गो रेलमा भारतीय कम्पनीको सिन्डिकेट तोडिएको छ। यसअघि, नेपाल र भारत सरकारबीच रेल सेवा सम्झौता भएको करिब १७ वर्षसम्म भारत सरकारको स्वामित्वमा रहेको कम्पनीले मात्रै नेपालमा यो सेवा दिँदै आएको थियो ।