२७ भदाै । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा पनि नेकपा एमालेका सांसदले अवरोध गरेपछि सभामुख अग्नी प्रसाद सापकोटाले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।
पहिलो बैठक बसेर १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सूचारू भए लगत्तै बैठकमा एमाले सांसदले नाराबाजी गरेपछि बैठक स्थगित भएको हो।
१४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै उनीहरूले आज पनि नाराबाजी गरेका हुन्। एमाले सांसदहरुले ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘पार्टी फूटाउने षड्यन्त्र मुर्दावाद’ लगायतका नारा लगाएका थिए।
यसअघि बैठक खुलाउन सभामुख अग्नि सापकोटाको नयाँ बानेश्वरस्थित संसद भवनको कार्यकक्षमा एमालेका प्रतिनिधिसँग छलफल गरेका थिए।
प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकबाट नै एमालेले अवरोध गर्दै आएको छ। एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले बैठकबाट निकाल्नु पर्ने अडान राख्दै आएको छ। एमालेले सभामुखको भूमिकामा प्रश्न गर्दै नाराबाजी गर्दै आएको छ।