पहिराले खानेपानी आयोजनाको पाइप बगायो



१९ भदाै । व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले व्यास–१३ खिरखाँदीबाट ल्याएको खानेपानीको पाइप पहिराले बगाएर क्षति पुगेको छ । दुई दिन निरन्तर परेको बर्सातले व्यास नगरपालिका–१३ स्थित धारापानी नजिक डाँडा नै खसेर खानेपानीको पाइप बगाएपछि पानी आपूर्ति बन्द भएको छ । पहिराले खानेपानीको पाइप बगाएर सेतीनदी किनारसम्म पुराएको संस्थाका सचिव राजेश्वर हड्खलेले जानकारी दिए । डोजरले पनि पल्टाउन नसक्ने किसिमका ठूला ठूला ढुङ्गा थुप्रिएको छ । उनले भने, “२०० एमएमको जिआइ पाइप ६५ मिटर बगाएर क्षति भएको छ ।”

घटनास्थलको अवस्था हेर्दा एक महिनामा पनि पन्छाएर नसकिने देखिएको उनले बताए । पहिराको क्षतिबाट करिब रु चार लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । खिरखाँदीको मुहानबाट ल्याइएको पानीको क्षमता प्रतिसेकेण्ड नौ लिटर रहेकोमा पहिराले अवरुद्ध बनाएपछि पानी वितरणमा समस्या देखिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए । उक्त आयोजनाको पानी सञ्चालन नहुँदासम्म छाब्दी खोला लिफ्टिङ र धुपखोलाको पानीले एक दिन बिराएर पानी आपूर्ति गर्न सकिन्छ कि भन्ने विषयमा समितिमा छलफल भइरहेको उनले बताए ।


पहिराले क्षति बनाएपछि अस्थायीरुपमा पोलिथिन पाइप प्रयोग गरेर भए पनि जति सक्दो चाँडो पानी सञ्चालन गर्न सकिन्छ कि भनेर छलफल अघि बढाइएको छ । उक्त खिरखाँदी खोला सदरमुकाम दमौलीदेखि करिब १३ किलोमिटर दूरीमा पर्दछ । उक्त संस्थाले दुई हजार ५०० घरधुरीमा पानी वितरण गर्दै आएको जनाएको छ । नेपाल सरकारको सहलगानीमा निर्माण गर्न लागेको मादी नदी लिफ्टिङ खानेपानी आयोजनाको द्विपक्षीय सम्झौता गरिसकिएको छ । नेपाल सरकारको ७० प्रतिशत, स्थानीय श्रमदान २० प्रतिशत र स्थानीयको १० प्रतिशत नगद बेहोर्नुपर्ने व्यवस्था रहेको छ । सहलगानीमा कूल रु २६ करोड १४ लाख ९३ हजार ५१८ को लागतमा उक्त खानेपानी आयोजना सम्पन्न गर्ने योजना रहेको छ । बर्सेनि बाढी पहिराले खानेपानीमा क्षति पु¥याउन थालेपछि समितिले मादीनदी लिफ्टिङ आयोजनालाई जोड दिएको छ ।