थप १५११ जनामा सङ्क्रमण पुष्टी, ११ काे मृत्यु



३१ भदाै । पछिल्लाे २४ घण्टामा थप १ हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । आज सार्वजनिक तथ्याङ्कअनुसार १५ हजार १७९ जनामा परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा सङ्क्रमणको दर १९.२ प्रतिशत पुगेको छ । यस्तै सक्रिय सङ्क्रमित २५ हजार ७७२ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १० र २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २२ पुगेका छन् ।


यस्तै पछिल्लाे २४ घण्टामा थप १ हजार ६८९ सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ७ लाख ४५ हजार २१५ कोरोनामुक्त भएका हुन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.३ प्रतिशत रहेको छ ।

यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा ११ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २ जनाको मृत्यु भएको छ । नेपालमा प्रतिदश लाखमा ३७०.८ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ ।

हाल ४०७ सघन उपचार कक्ष, १२८ भेन्टिलेटर, २४ हजार २२२ होम आइसोलेसन, एक हजार ५५० संस्थागत आइसोलेसन र २२० जना क्वारेन्टिनमा रहेका छन् ।

आज १ लाख १० हजार ८९९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा ६० लाख ५७ हजार १९४ जना र पूर्ण मात्रा ५४ लाख ७३ हजार १५१ जनाले लगाएका छन् ।