एक साताभित्र मन्त्रिपरिषद विस्तारः माधव नेपाल



नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच चुनावसम्म तालमेल हुने बताएका छन्। शुक्रबार काठमाडौंको नयाँबानेश्वरस्थित पार्टी कार्यालयको शुभारम्भ गर्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल हुने बताएका हुन् ।

उनले तत्काल कुनै पनि दलहरूसँग पार्टी एकता भने नगर्ने बताए ।  उनले भने, ‘हामी पाँच दलीय गठबन्धनलाई बलियो बनाउन चाहन्छौं । अहिले हामी कुनै दलसँग पार्टी एकता गर्न गइरहेका छैनौं । गठबन्धनसँग चुनावी तालमेल गरेर निर्वाचनमा जान्छौं ।’


उनले आफ्नो पार्टी नवीन सोच र मान्यताका साथ नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ ताराका रुपमा उदय भएको पनि बताए । उनले जनतालाई अल्मल्याउन आफूहरु १० थरी कुरा नगर्ने पनि प्रस्ट पारे । नेपाल राष्ट्र र नेपाली जनता नै आफूहरुको सम्पूर्ण सोच, चिन्तन र व्यवहारको केन्द्र हुने उनले बताए ।

समाजलाई अग्रगमन र परिवर्तनका दिशामा लैजान लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसात गरेर अघि बढ्ने उनको भनाइ थियो । उनले नेपालले एक साताभित्र मन्त्रिपरिषद विस्तार हुने बताए । उनले भने,‘हामीले पार्टी गठन गरिसकेका छौं, सरकारमा जान कुनै समस्या छैन । म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ । आज भने आज भोलि भने भोलि सरकारमा जान तयार छौं।’ प्रदेश नम्बर १ र ३ मा उक्त पार्टीले मुख्यमन्त्री दाबी गरिरहेको छ। कुनै पनि दिन ती प्रदेशमा मुख्यमन्त्री फेरिएको खबर आउने पनि अध्यक्ष नेपालले बताए।