अख्तियारको छापा मुख्यमन्त्रीलाई बद्नाम गर्ने षड्यन्त्र होः मुख्यमन्त्री राउत



१४ असाेज ।प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार अपरान्ह पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री राउतले सरकार प्रमुखको कार्यालयमा छापामार्ने अख्तियारको शैली ठीक नभएको बताएका हुन् ।


उनले यसबारेमा अख्तियार प्रमुख प्रेम राईलाई टेलिफोन गरी जानकारी गराएको बताए । उनले भने, ‘सुशासनको सवालमा म आफैं ओपन व्यक्ति हुँ । साइकल खरिदमा कहिंकतै अनियमितता भएको भए कारबाही गर्न म सहयोग गर्न तयार छु । तर अख्तियारको शैली ठीक भएन।’

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत खरिद गरेको साइकलको कम्पनी नै नखुलेको र मूल्य पनि फरक राखिएको पाइएपछि अख्तियारले बुधबार छापा मारी कागजात नियन्त्रणमा लिएको थियो ।