१,५५८ जनामा सङ्क्रमण पुष्टी, १,३५१ सङ्क्रमण मुक्त



१ असाेज । विगत २४ घण्टामा थप एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । आज सार्वजनिक तथ्याङ्कअनुसार १२ हजार ३८५ जनामा परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हाे ।

नेपालमा सङ्क्रमण दर १९.२ प्रतिशत पुगेको छ । हाल नेपालमा सक्रिय सङ्क्रमित २५ हजार ४९७ जना छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १० र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० पुगेकाे छ ।


यस्तै गत २४ घण्टामा थप एक हजार ३५१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ४६ हजार ५६६ कोरोना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.३ प्रतिशत छ ।

यस्तै गत २४ घण्टामा सङ्क्रमणबाट एकै दिन १० जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार १२ जनाको मृत्यु भएको छ । नेपालमा प्रतिदश लाखमा ३७१.२ जनाको सङ्क्रमणबाट मृत्यु हुने गरेकाे छ ।

त्यस्तै ३८६ जना सघन उपचार कक्ष (आइसियु), ११७ भेन्टिलेटर, २३ हजार ९५० होम आइसोलेशन, एक हजार ५४७ संस्थागत आइसोलेशन र २३६ जना क्वारेन्टिनमा छन् ।

आज ६० हजार १५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म ६० लाख ८३ हजार १२४ जनाले पहिलो मात्रा र ५४ लाख सात हजार ३८० ले पूर्णमात्रा खोप लगाइसकेका छन् ।