संखुवासभा हत्याकाण्ड : यसरी भएको थियो कार्की परिवारको हत्या



४ असाेज । संखुवासभा सामुहिक हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा अन्यको पनि संलग्नता देखिएपछि थप ४ जनालाई पक्राउ गरिएको छ ।

सोमबार संखुवासभामा प्रहरीले पत्रकार सम्मेलन गर्दै घटनामा ५ जनाको संलग्नता रहेको भन्दै उनीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार तेजबहादुर र उनकी श्रीमती कमला कार्कीको हत्या गर्ने र हत्या अन्यले देखेमा उनीहरुको पनि हत्या गरी धनमाल लुट्ने योजना बनाएको प्रहरीले जनाएको छ । हत्याको मुख्य योजनाकार लोकबहादुर कार्कीको काका खड्गबहादुर कार्की रहेको पनि प्रहरीले बताएको छ ।


घटना हुनुअघिल्लो दिन राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र नरेश मिलेर तेजबहादुर कार्कीको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । २१ भदौमा तेजबहादुर खेताला बोलाउन आउने भएकाले त्यही मौकामा तेजबहादुर र कमलको हत्या गर्ने योजना बनाएको पाइएको प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।अन्यले थाहा पाए उनीहरुको पनि हत्या गर्ने योजना रहेको प्रहरीले भनेको छ ।

२१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको थियो । ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

यसरी भएको थियो कार्की परिवारको हत्या (प्रहरीको दाबीअनुसार)

–     घटना योजनावद्ध ढङ्गबाट ५ जनाको समूहले घटाएको जुन योजना अभियुक्त लोक बहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात राति ८ बजे मुख्य योजनाकार खड्गबहादुर कार्कीसहित हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश कार्की समेत बसी बनाएको । योजना अनुसार घटनाको दिन २१ गते बिहान मृतक तेज बहादुर कार्की खेताला बोलाउन लोक बहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेजबहादुर र कमला कार्कीको हत्या गर्ने, अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने साथै अनुकुल मिलेमा तेजबहादुरको घरमा भएको धनमाल समेत लाने योजना रहेको ।

–     घटनाको दिन मृतकको पिप्लेस्थित खेतमा आरोपीहरू खड्ग बहादुर कार्की, हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निश्चित भएको ।

–     योजनाअनुसार मृतक तेजबहादुर कार्की बिहान आउने निश्चित गर्न खड्ग बहादुर कार्की बिहान ५ बजे तेज बहादुर कार्कीको घरमा गई ‘लोक बहादुर अल्छि छ घरमै गएर खेताला निश्चित गर्नु’ भनि तेज बहादुर कार्कीलाई लोक बहादुर कार्कीको घरतर्फ जान अभिप्रेरित गरि घर तर्फ फर्केको र तेज बहादुर लोक बहादुर कार्कीको घरतिर जाँदै गरेको देखे पछि खड्ग बहादुर र हस्त बहादुर निजको घर पछाडि चिर्पट बोकी तयारी हालतमा बसेको ।

–     मृतक तेज बहादुर कार्की बिहान ५ वजे उठी लोक बहादुरको घरमा खेताला निश्चित गई सुति रहेको लोक बहादुर लाई ‘अल्छि अझै सम्म उठेको छैनस्,’ भन्दै कराए पछि लोक बहादुर उठेको, लोक बहादुरको भाइ नरेश कार्की र बाबु रण बहादुर कार्की समेत घरमै रहेको । घरबाट फर्केने क्रममा योजनाअनुसार लोक बहादुरले भाइ नरेशलाई इसारा गरि आफूले दाउराको चिर्पट र अलैची काट्ने चक्कु बोकी पछि पछि गई घर पछाडिको गोगनेको रूख नजिक मृतक तेज बहादुरको टाउकोमा प्रहार गरि लडाएको र खड्ग बहादुर र हस्त बहादुर दाउराको चिर्पट लिई आई तेज बहादुर माथि प्रहार गरेको र हस्त बहादुरले चक्कुले पेटमा प्रहार गरि डिलबाट लडाईं बाटोमा झारी हत्या गरि घोप्टो पारेको ।

–     घटनाको बेला मृतकले ‘लोकेले मा¥यो, मलाई नमार’ भन्दै गरेको हार–गुहार सुने पछि ‘मेरो श्रीमानलाई नमार’ भन्दै तेज बहादुरको श्रीमती र बुहारी आएकोमा लोक बहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाँटीमा हस्त बहादुरले छुरा प्रहार गरेको र बुहारी रञ्जना नरेशले ठेली खोल्सामा झारेको र खड्क बहादुर, लोक बहादुर र हस्त बहादुर मिलि हत्या गरेको । मृतक रञ्जनाको लास रण बहादुर र नरेश समेतले कमलाको लास भएको स्थान सम्म पु¥याउन सहयोग गरेको ।

–     उक्त घटनाको बेला मृतक नाबालकहरू दिपेन र गोमा समेत घर नजिकको बाटोमा आएको देखि हस्त बहादुर र लोक बहादुरले बाटो छेकी मुख थुनी लोक बहादुरले चिर्पटले हिर्काई घाटी बटारी हत्या गरेको ।

–     तत् पश्चात पाँचै जना अभियुक्तहरू मृतकको घरतर्फ गएको र घरमा मृतक ८४ वर्षीय पार्वती कार्की मकै नंग्याई रहेको अवस्थामा हस्त बहादुरले समाती घर पछाडिको गोठ नजिक लगी लोक बहादुरले टाउको भित्तामा ठोक्काई घाँटी बटारी हत्या गरेको र सबैजना घटनामा प्रयोग गरेको चिर्पट र छुरी बोकि लोक बहादुरको घरमा गई लागेको रगत पखाली छुरी घुई बुईकलमा लुकाएको, चिर्पटहरू अगेनामा डडाएको, रगत लागेको कपडाहरू समेत लुकाएको । खड्ग बहादुर र निजको छोरा हस्त बहादुर घर तर्फ गएको । फर्कने क्रममा रञ्जनाको ओप्पो मोबाइल नरेशले लिएर आई स्विच अफ गरि घरमुनिको ओडारमा लगि लुकाएकोमा अनुसन्धानको क्रममा फेला परेको ।

–     पुनः खड्ग बहादुर र निजको छोरा हस्तबहादुर लोक बहादुरको घरमा गई सबै जना मिलि कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनि भन्ने यदि प्रहरी आई पत्ता लगाएमा लोक बहादुरले मानसिक औषधि पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरि फर्केको ।

–     घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको र अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोबाइल समेत बरामद गरि थप अनुसन्धान भइ रहेको ।