प्रदेश २ मा एमालेका १० जना सांसदले गराए नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत



१७ भदाै । प्रदेश २ मा एमालेका १० जना प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराएका छन् । बिहीबार प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर उनीहरुले नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराएका हुन् ।

सनाखत गर्नेमा गोविन्द बहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, खुसिमा खातुन र नागेन्द्र यादव रहेका छन् ।


नेकपा एकीकृत समाजवादीका पक्षमा एमालेका १३ सांसदले सनाखत गराउने भनिए पनि १० जनामात्र उपस्थित भएका हुन् । सांसद दिल्ली उप्रेती उपचारका लागि भारतकाे दिल्लीमा रहेकाे र प्रदेश सांसद सुन्दर विश्वकर्मा र सीता गुरुङ माैसम खराब हुँदा जनकपुर आउन नसकेकाे बताइएकाे छ ।

प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेतीले दिल्लीस्थित नेपाली दूतावास मार्फत निर्वाचन आयोगमा उनको सनाखतसम्बन्धी पत्र आउने गरी सुविधा माग गर्दै आयोगमा निवेदन दिएका छन् भने अन्य दुई सदस्य ले शुक्रबार सनाखत गराउने बताइएकाे छ ।