प्रदेश १ मा १० सांसदले गराए नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत,प्रदेश सरकार अल्पमतमा



१६ भदाै । प्रदेश १ मा नेकपा एमालेका १० जना प्रदेशसभा सांसद नेकपा समाजवादीमा सामेल भएका छन् । बुधबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादीकाे पक्षमा सनाखत गराएका छन् । 

सनाखत गर्नेमा राजेन्द्र राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, राजन राई, सावित्रा रेग्मी, गणेशकुमार काम्बाङ, खिनुकुमारी लङ्बा, सरिता थापा, पदमकुमारी गुरुङ र सुनिता चौधरी रहेका छन् ।


९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१ सांसद रहेकोमा १० जना नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएसँगै अब एमालेमा ४१ सांसदमात्र बाँकी छन् । प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक पर्नेमा एमालेले बहुमत गुमाएको छ । याे सँगै प्रदेश सरकार अल्पमतमा परेको छ ।

प्रदेशसभामा नेपाली काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १० र जसपाका ३ सांसद छन् । केन्द्रमै गठबन्धन गरेका यी चार दलले प्रदेशमा पनि नयाँ सरकार गठनका लागि पहल गर्दैछन् । यो गठबन्धनको पक्षमा प्रदेशसभामा ४९ सांसद हुन्छन् ।