प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित



२९ भदाै । प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार एमालेको अवरोधकै बीच प्रतिनिधिसभाको बैठक सुरु भएको थियो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्ताव माथिको छलफलमा नेमकिपाका सांसद् प्रेम सुवाल सहभागी भएका थिए । एमाले अवरोधकै बीच विनियोजन विधेयक,२०७८ बहुमतले पारित भएको छ । मंगलबारको बैठकमा संविधानसभा सदस्य मनबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो ।


बैठकमा एमालेको अवरोध कायमै रहेपछि सभामुखले असोज चार गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । प्रतिनिधिसभाको नवौं अधिवेशन भदौ २३ गते सुरु भएयता एमालेले लगातार अवरुद्ध गरिरहेको छ ।

विगतमा एमालेमा रहेर वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिनेमध्ये १४ सांसदलाई पदमुक्त गर्नुपर्ने भन्दै उसले संसद् अवरुद्ध गरिरहेको हो । यस विषयमा सभामुख अग्निप्रसाद सापकोटाले पार्टीले गरेको कारबाहीअनुसार सूचना जारी नगरेको एमालेको आरोप छ ।