थप १४७६ जनामा सङ्क्रमण पुष्टी, ९ काे मृत्यु



८ असाेज । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४७६ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार ६९० जनामा कोरोना परीक्षण गर्दा एक हजार ४७६ जनामा सङ्क्रमण पाइएको हो । हाल देशभर सक्रिय सङ्क्रमित २० हजार २८७ रहेका छन् । सङ्क्रमण दर १९ प्रतिशत रहेको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देही रहेका छन् ।


पछिल्लो २४ घण्टामा एक हजार ५५० जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमण मुक्त हुने कूल सङ्ख्या सात लाख ५८ हजार ५०४ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.०३ प्रतिशत रहेको छ ।

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ८१ जनाको मृत्यु भइसकेको छ ।

हाल देशभर ३४७ सघन उपचार कक्ष (आइसीयू), १०५ भेन्टिलेटर, १८ हजार ९६९ होम आइसोलेसन, एक हजार ३१८ संस्थागत आइसोलेसन र २४४ जना क्वारेन्टिनमा रहेका छन् ।

आज कोरोना भाइरस विरुद्धको खोप एक लाख ७२ हजार ५९० जनाले लगाएका छन् । अहिलेसम्म ६३ लाख ८० हजार ५८६ जनाले पहिलो मात्रा र ५९ लाख ४६ हजार २२ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।