७ असाेज । गृहमन्त्री बालकृष्ण खाँडले चाडबाडमा हुने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्दै आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज आयोजित चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा मन्त्री खाँडले कालोबजारी, म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्रीवितरण हुनसक्नेतर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानूनअनुसार कारबाही गर्न पनि निर्देशन दिए ।
“नागरिकको जीवन रक्षा र हितका लागि काम गर्नु राज्यको पहिलो दायित्व हो, त्यो दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौँ”, मन्त्री खाँडले मातहतका अधिकारीलाई निर्देशन दिँदै भने, “म्याद गुज्रेका औषधि र खाद्य सामग्री बिक्रीवितरण गरेको पाइएमा हामी कानूनअनुरुरूप अगाडि बढ्नुपर्छ, त्यस विषयमा ध्यान दिनुहोला ।” आपूर्ति व्यवस्थापन, बजार अनुगमन र व्यवस्थापन तथा यातायात व्यवस्थापनसम्बन्धी बोलाइएको बैठकमा उपभोक्ता अधिकारकर्मी, यातायात व्यवसायी, उद्योगी व्यवसायी र सरकारी तथा सुरक्षा निकायका अधिकारीको सहभागिता थियो ।
बैठकमा मन्त्री खाँडले म्याद गुज्रेका सामग्री बेच्दा घुमीफिरी आफ्नै भान्सामा आइपुग्नेतर्फ पनि ध्यान दिन आग्रह गरे । उनले चाडपर्वमा अन्य बेलामा भन्दा कम नाफा लिएर धेरै वस्तु सुपथ मूल्यमा बेच्न पनि व्यवसायीलाई आग्रह गरे । “सुपथ मूल्यमा बेचेर उपभोक्तालाई राहत दिनुस् भन्ने मेरो आग्रह छ, बढी मूल्यमा बेचेको पाइएमा सरकारी निकाय कानूनअनुरूप अगाडि बढ्छ”, मन्त्री खाँडले भने । व्यवसायी, सरकार र उपभोक्ता मिलेर अगाडि बढेमा मात्र चाडपर्व रमाइलो गरी मनाउन पाउने पनि उनको भनाइ थियो ।
उनले सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर बन्न पनि व्यवसायीलाई आग्रह गरे । बर्सातका समयमा बिग्रिएका मुलुकका विभिन्न स्थानका सडक दसैँ अगाडि मर्मत गर्न प्रधानमन्त्रीसँग कुरा राखेर पहल गर्ने उनले बताए । जनताको सुरक्षाका लागि सरकारले आफ्नो दायित्व कुनै पनि अवस्थामा पूरा गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । गृहसचिव टेकनारायण पाण्डेले चाडपर्वमा बजार व्यवस्थापनमा त्रिपक्षीय सम्बन्ध जरुरी रहेको उल्लेख गर्दै बजार प्रणालीबाट जनस्वास्थ्यमा खेलबाड गर्न नपाइनेतर्फ सचेत गराए ।
उनले बजारमा खेलबाड गर्न नदिन गृहमन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले अनुगमनमा मूल्यसूची जस्तै स्वास्थ्य मापदण्ड पनि हेरिने बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले चाडपर्वका बेला म्याद सिद्धिएका खाद्य सामग्री बिक्री वितरण गरेको पाइएमा कडा कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको जानकारी दिए । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मुख्य चाडपर्वलाई लक्षित गर्दै प्रहरीले विशेष सुरक्षा योजना बनाएको बताए ।