काभ्रेमा पुनः सल्बलाए मिर्गौला तस्कर



काभ्रेपलाञ्चोक, १७ भदौ । बनेपा नगरपालिका–५ का २८ वर्षीय एक युवाको मिर्गाैला बिक्री गरेको आरोपमा गत साउन अन्तिम साता प्रहरीले काभ्रेपलाञ्चोककै तीनलाई पक्राउ ग¥यो । उनीहरुले दाजुको मिर्गाैला तस्कर खोज्ने क्रममा लागेका युवालाई नै झुक्यानमा पारी उनको एउटा मिर्गाैला भारतमा लगेर बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनायो । प्रहरीले भुम्लु गाउँपालिकाका ३५ वर्षीय कुमार परियार, उनका भाइ ३३ वर्षीय देवराज र पाँचखालका ३१ वर्षीय कुमार परियारलाई मिर्गाैला तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

उनीहरुले ती युवाको एउटा मिर्गाैला भारतको कोलकातास्थित एमआरआई अस्पतालमा शल्यक्रिया गरी बिक्री गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक राजन कोइरालाले बताए । उनका अनुसार दाजुको मिर्गाैला बिक्री गर्ने तस्कर खोज्दाखोज्दै उनकै निशानामा पारेका ती युवाको जाहेरीपछि उनीहरुको खोजबिन थालिएको हो ।


काभ्रेपलाञ्चोकबाट केही वर्षदेखि मानिसको शरीरको महत्वपूर्ण अङ्ग मिर्गाैला तस्करी रोकिएको अनुमान गरिए पनि २०७५ जेठ १० गते तस्करले काभ्रे जिल्ला बनेपा नपा–२ टुकुचानालास्थित गिरीगाउँका २९ वर्षीय कुमार गिरीलाई झुक्याएर उनको एउटा मिर्गाैला भक्तपुर नपा–१ सल्लाघारीका ५१ वर्षका थर्कबहादुर बस्नेतलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराएका थिए । स्थानीयवासीका अनुसार तर उक्त घटनामा संलग्नलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।

प्रहरीले ज्याम्दी र होक्सेमा मिर्गाैला तस्करी गर्ने सात जनालाई २०७० वैशाखमा कानुनी कारबाही गरेको थियो । घटनाक्रमले जिल्लामा मिर्गाैला तस्कर पुनः सक्रिय भएको देखिएको छ । काभे्रपलाञ्चोकले कुनै बेला ‘बैंक अफ किड्नी’को रूपमा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको थियो । हाल मिर्गाैला बिक्री गर्नेहरुको जीवनशैली निकै कारुणिक बन्दै गएको पाइएको छ । त्यसो त पाँचखाल नपा–७ जोरपिपल मिर्गाैला बिक्री गर्नेको दैनिक जमघटस्थल हो ।

६ देखि १० सम्म समूहमा रहने उनीहरु प्रायः मदिरा सेवन गरी अस्वाभाविक अवस्थामा रहने गरेको देखिन्छ । यस क्षेत्रमा मिर्गाैला बिक्रीबारे समाचार सङ्कलन तथा अनुसन्धान गर्न गएकामाथि हातपात गर्नसमेत पछि नपरेको घटना छन् । होस–बेहोसमा हुने उनीहरु आफ्नो कमजोरीलाई ‘कमाइखाने’ विषय बनाएकामा उनीहरुको आक्रोश देखिन्छ । जानेर–नजानेर आफ्नो शरीरको महत्वपूर्ण अङ्ग मिर्गाैला बेचेका उनीहरुको जीवनशैली दिनानुदिन कारूणिक बन्दै गएको देखिन्छ । विशेषगरी शारीरिक र आर्थिक अवस्था निकै कमजोर भइसकेकाले आयआर्जनका वैकल्पिक काम गर्नसमेत सकेका छैनन् ।

१९ वर्षअघि मिर्गाैला बेचेका मण्डनदेउपुर नगरपालिका–२ ज्याम्दीका नवराज मिजारले खुलेरै आफूले मिर्गाैला बिक्रीपछि दुखाई कम गर्न रक्सी खाने गरेको र मिर्गाैला बेचेर आएको पैसा पनि सकेर जमिन पनि सकेको बताए । “अहिले त मैले रक्सी छाडिसके, अब हामी मिर्गाैला बेचेका केही मिलेर शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना बाँड्ने कि भनी सोच्दैछौँ”, उनले भने । उनका अनुसार ज्याम्दी तथा पाँचखालको जोरपिपल र होक्सेका मिर्गाैला बिक्री गर्ने अधिकांश मदिरा सेवन गरी आफ्नो शरीर थप कमजोर बनाउँदै घृणाका पात्र बनिरहेका छन् ।