काठमाण्डौमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजदेखि उठ्दै



१६ भदौ । काठमाण्डौमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजदेखि उठ्न थालेको छ । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको हिजोको बैठकले आजदेखि फोहोर उठाउने निर्णय गरेको हो ।

लामो समय फोहोर नउठ्दा अरु समस्या आउने खतरा बढेकोले विसर्जनस्थलको समस्याकैबीच पनि फोहोर उठाउन थालिएको हो । विसर्जनस्थलको समस्या समाधानका लागि अरु निकायसँग समन्वय भैरहेको महानगरपालिकाले जनाएको छ । नुवाकोटको सिसडोलमा विक्रम संवत २०६२ मा दुई वर्षको मात्र फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिड साइट निर्माण गरिएको थियो तर पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ ।


काठमाण्डौ उपत्यकाबाट हरेक दिन एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । अहिले फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल बनाइएको छ । काठमाण्डौ महानगरपालिका सहित उपत्यकाका विभिन्न सडक र चोकमा फोहोर थुप्रिदा दुर्गन्ध बढेको छ ।