२१ भदाै । काठमाडौंमा आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यालयले अघिल्लो साता नै उपत्यकामा विद्यालय सञ्चालन गर्न सक्ने गरी आदेश जारी गरेसँगै स्थानीय तहहरूले विद्यालय खोल्ने तयारी गरेका हुन्। तर विद्यालय सञ्चालन गर्दा स्थानीय तहहरूले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सँग समन्वय गर्नुपर्ने भनिएपछि सोबारे अन्तिम टुंगो गर्न आज बैठक बसेको हो।
कोरोनाको संक्रमणको अवस्था विश्लेषण नगर शिक्षा समितिले आवश्यक निर्णय लिन सक्नेगरी सोमबारको बैठकबाट निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
‘बैठकले स्थानीय तहहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर कोभिडको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने भन्ने निर्णय गरेको छ,’ उनले भने।
पराजुलीका अनुसार विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने र सोको पालना भएको/नभएको भनेर नियमित नियमन गर्नुपर्ने छ।