२३ भदाै । नेकपा एमालेले पार्टीले कारवाही गरेका १४ सांसद प्रतिनिधिसभाको बैठकमा सहभागी भए सदन चल्न नदिने चेतावनी दिएको छ । बुधबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै दलका नेता केपी शर्मा ओलीले पार्टीले कारवाही गरेका माधवकुमार नेपालसहित १४ सांसद सहभागी भए सदनको क्रियाकलाप अगाडि बढाउन नदिने उल्लेख गरे ।
‘प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावलीले गैरसांसदको उपस्थितमा बैठक सञ्चालन हुन नसक्ने व्यवस्था गरेको छ’, ओलीले बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा भने, ‘साउन २५ गते निष्कासन गरेको व्यक्ति भदौ २३ को बैठकमा उपस्थित हुन्छन् भने उनीहरू गैरसांसद हुन्। गैरसांसद उपस्थित भएपछि कसरी सभा चल्न सक्छ।’
सांसदहरूलाई सम्बोधन गर्दै उनले आफ्नो दलले कारवाही गरेका सांसदलाई सभामुख सापकोटाले बचाएर पार्टी फुटाउन खोजेको आरोप समेत लगाएका छन् । एमालेले संसद बैठकको प्रारम्भमा सभामुखलाई राष्ट्रपतिले संसद बैठक प्रारम्भ भएको पत्र बाचन गर्न दिने र त्यसपछिका कार्यसूचीमा प्रवेश गर्न नदिई सदन अवरुद्ध गर्ने तयारी गरेको छ ।