एमसीसी उपाध्यक्षको टोली काठमाडौंमा



२४ भदाै । अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) की उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् । उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको चारदिने भ्रमणका क्रममा बिहीबार बिहान काठमाडौं आइपुगेको हो ।

उनीहरू कतार एयरवेजमार्फत बिहीबार बिहान काठमाडौं आएका हुन् । उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा तथा राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने कार्यक्रम छ ।


काठमाडौं आउनुअघि बुधबार मात्रै उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको जवाफ पठाएकी थिइन । एमसीसीले सम्झौताभन्दा नेपालको संविधान स्वतः माथि हुने र यो अनुदान कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नहुने स्पष्ट पारेको छ ।

उसले भइसकेको सम्झौता अब संशोधन नहुने जानकारी पनि गराएको छ । सरकारले एमसीसीसँग सम्बन्धित सरोकार सूचीकरण गरेर गत शुक्रबार वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई पत्राचार गरेको थियो ।