सेतीमा खसेकी युवतीको आठ दिनपछि शव भेटियो



५ असाेज । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ । टिकटक बनाउने क्रममा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती आज मृत अवस्थामा फेला परेकी हुन् ।

१९ वर्षीया पवित्रा लम्सालको शव भिमाद नगरपालिका–७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । सेती नदी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको शव आफन्तले पहिचान गरेका छन् ।


“शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ”, प्रनाउ तिमिल्सिनाले भने । विवाह भएको पाँच दिनमा माइत आएकी उनी साथीहरुसँग घुम्ने क्रममा रक गार्डेनमा पुगेकी थिइन् । त्यसक्रममा साथीहरुले उनको भिडिओ खिचेका थिए । भिडिओमा ‘पवित्रा नजा नजा’ भनेको सार्वजनिक भएको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।