सभापतिमा हाम्रो साझा उम्मेदवार हुन्छः वरिष्ठ नेता पौडेल

g]kfnL sfFu|]; ;+;bLo bnsf] sfof{no l;+xb/af/df d+unaf/ ;fFem a;]sf] s]Gb|Lo sfof{nosf kbflwsf/Lx?sf] a}7skl5 ;~rf/sdL{x?;Fu ;+lIfKt s'/fsfgL ub}{ jl/i7 g]tf /fdrGb| kf}8]n . tl:a/ M /Tg >]i7, /f;; .


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट आउँदो १४औँ महाधिवेशनमा साझा सभापतिको उम्मेदवार तय गरिने बताउनुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा संस्थापन इतर समूहले आज आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले महाधिवेशनमा एकताको सन्देश दिन सबै नेताहरु एकैसाथ एउटै मञ्चमा उपस्थित भएको बताउनुभयो ।

महाधिवेशनका लागि शुक्रबारदेखि देशभर वडा सम्मेलन शुरु हुन लागेको पूर्वसन्ध्यामा पौडेल समूहले आफ्नो समूह छिन्नभिन्न नभएर एक रहेको सन्देश दिन खोजेको थियो । पार्टी बचाउनका लागि पनि आफ्नो समूहबाट एक जनाले मात्र सभापतिमा उम्मेदवारी दिने नेता पौडेलको भनाइ थियो । वडा अधिवेशन सुरु हुन लागेकाले सभापतिका लागि एउटै व्यक्तिको नाममा सहमति गर्न अझै समय रहेकाले अहिले नै कुनै व्यक्तिको नाम किटानी नगरेको नेता पौडेले सुनाउनुभयो ।


आफ्नो समूहबाट कसलाई के जिम्मेवारी दिँदा ठिक हुन्छ भनेर आफूहरुबीच छलफल भइरहेको उहाँले बताउनुभयो । संस्थापन इतर समूहबाट चाँडै नै एक जनाको नाम घोषणा गरिने उहाँको भनाइ थियो । देशभरका कार्यकर्तालाई आफ्नो समूहबाट साझा उम्मेदवार हुनेमा विश्वस्त हुनसमेत उहाँले आग्रह गर्नुभयो ।

कांग्रेसलाई एकताबद्ध बनाउनमा आफ्नो समूहको प्रयास रहने नेता पौडेलले बताउनुभयो । छलफल गरेर नै सभापतिको उम्मेदवार तय गर्ने र कुनै खटपट नगरी एक भएर अगाडि बढ्ने वरिष्ठ नेता पौडेलले प्रष्ट पार्नुभयो । सभापतिलगायत अन्य सबै पदमा छलफलबाटै उम्मेदवार तय गरिने उहाँको भनाइ थियो । अझै पनि क्रियाशील सदस्यताको विवाद समाधान हुन नसकेको र निष्ठावान् कार्यकर्ता क्रियाशील सदस्यताबाट बञ्चित हुने अवस्था सिर्जना भएको नेता पौडेलले बताउनुभयो ।

पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलसँगै पार्टीका महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, बलबहादुर केसी, डा शेखर कोइराला, मीनेन्द्र रिजाल, धनराज गुरूङ, गगन थापा, सरिता प्रसाईं, किरण यादवलगायत नेता उपस्थित हुनुहुन्थ्यो ।

पत्रकार सम्मेलनमा १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएका गगन थापासमेत उपस्थित हुनुहुन्थ्यो । उहाँले सोमबार काठमाडौँ महानगरपालिका–३० मा आयोजित कार्यकर्ता भेलामा केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी दिने औपचारिकरुपमा घोषणा गर्नुभएको थियो । कांग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा हुने तय भएको छ ।