राजा हुन्छु भन्दै नारायणहिटीभित्र राखिएको श्रीपेच निकाल्न खोज्ने पक्राउ



८ असाेज । नारायणहिटी दरबार संग्रहालयभित्र श्रीपेच राखिएको ठाउँको सीसा फोड्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पश्चिम रूकुम घर भएका २५ वर्षिय खिमबहादुर घर्तीलाई श्रीपेच राखेको ठाउँको सीसा फोड्ने प्रयास गरेपछि त्यहाँ सुरक्षामा खटिएकाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।


शुक्रबार अवलोकन गर्न पुगेका पश्चिम रुकुम मसिकोट ११ का घर्तीले श्रीपेच राखिएको ठाउँबाट खुकुरी झिकेर सिसा फुटाउन खोजेका थिए।श्रीपेच बुलेटप्रुफ सिसाभित्र रहेकाले सुरक्षित रहेको बताइएको छ ।   

घर्तीले आफूलाई राजा हुन मन लागेर श्रीपेच निकाल्न खोजेको प्रहरीसमक्ष बताएका छन्। ‘श्रीपेच निकालेर आफैं लगाउँछु, म राजा हुन्छु भनेर यस्तो गरेको उनले बताएका छन्,’ महानगरीय प्रहरी परिसरका वरिष्ठ उपरीक्षक अशोक सिंहले भने। घर्तीलाई अहिले वृत्त दरबारमार्गमा राखिएको छ।