नेपाली कांग्रेसको १४औँ महाधिवेशन: पोखरा महानगरपालिकामा बिजुक्छे विजयी



१० असाेज । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पोखरा महानगरपालिका समितिका लागि शनिबार सम्पन्न निर्वाचनबाट सुरेन्द्रमान बिजुक्छे नगर सभापतिमा निर्वाचित भएका छन् । आज बिहान घोषित मतपरिणामअनुसार उहाँले ४१४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटम प्रत्यासी गङ्गाधर पराजुलीले ३४६ मत प्राप्त गरे ।

महानगरको सभापतिमा कूल छ जनाको उम्मेदवारी परेकामा खसेका कूल एक हजार ३४४ मतमध्ये रामराज लामिछानेले २०९, मिलन तिवारीले १५३, मोहन बाँस्तोलाले १२६ र ज्योति हमालले ११ मत प्राप्त गरे । पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव समेत रहनुभएका बिजुक्छे यसअघि नेपाली कांग्रेस पोखरा महानगरको उपसभापति थिए । यसैगरी उपसभापतिमा ५६९ मत प्राप्त गर्दै प्रयागराज भण्डारी र ४६४ मत प्राप्त गर्दै भवसागर बराल निर्वाचित भएका छन् ।


उपसभापतिका छ प्रत्यासी रहेकामा निर्दोशविक्रम पौडेलले ४०७, राजेन्द्र बरालले ३७४, कृष्णप्रसाद अधिकारिले ३६५ र शिव केसीले १७३ मत प्राप्त गरे । दुईजना निर्वाचित हुने महानगरको सचिवमा टुवराज बाँस्तोला र गणेशबहादुर थापा विजयी हुनुभयो । बाँस्तोलाले ८४९ र थापाले ८०३ मत प्राप्त गरे । सचिवका अर्का प्रतिस्पर्धी सुरेन्द्रबाबु तिवारीले ६१७ मत प्राप्त गरे । सहसचिवमा ५८० मत प्राप्त गर्दै सङ्घर्ष कोइराला र ४६५ मत प्राप्त गर्दै सञ्जय आले निर्वाचित भए । सहसचिवका छ उम्मेदवारमध्ये नरेन्द्र बाँस्तोलाले ४५८, पुष्पराज सिग्देलले २४४, रवीन कायस्थले २७८ र लक्ष्मी बाँस्तोलाले ३८६ मत प्राप्त गरे ।