१४ असाेज । चितवन टाइगर्सले काठमाडौँ किङ्स–११ लाई तीन विकेटले पराजित गर्दै चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित दर्ता गराएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले दिएको १४२ रनको लक्ष्य चितवनले १८ दशमलव ४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो । चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक २६ रन बनाए । कमलसिंह ऐरी २३ रनमा अविजित रहे ।
यस्तै दिलीप नाथले २३, करिम जनतले २१, मोहमद साहजदले २१, भीम सार्कीले ६, सेकुगे प्रसन्नले ५ तथा इशान पाण्डेले ४ रन बनाए । कप्तान सोमपाल कामी भने शून्य रनमा आउट भए । काठमाडौँका जीतेन्द्र मुखिया र रायन बर्लले २÷२ विकेट लिए भने जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनाएको थियो ।
काठमाडौँका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाउदा राजु रिजालले २८ रन जोडे । त्यसैगरी जनक प्रकाशले २६, रहमानउल्लाह गुर्बाजले ५, अमित श्रेष्ठले ६, अमर रौटेला ५, गुलशन झाले ४ रन जोड्दा रायन बुर्ल शून्य रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ७ रनमा अविजित रहे ।
चितवनका सागर ढकालले ४ विकेट लिए भने करिम जनतले दुई विकेट लिए । कमल ऐरी र सेकुगे प्रसन्नले एक एक विकेट लिए । चितवनले २ खेलमा ४ अङ्क जोडेको छ । काठमाडौँको २ खेलमा २ अङ्क छ । काठमाडौँले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।