थप २ हजार २१२ मा सङ्क्रमण पुष्टि, ३३ जनाको मृत्यु



३१ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । पिसीआर र एन्टिजेन विधिबाट गरिएको कुल १२ हजार १०६ परीक्षणमा २ हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ३२ हजार २७२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ८६७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमण मुक्त हुनेको कुल सङ्ख्या ६ लाख ८२ हजार ६८२ जना पुगेको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार २९८ जना रहेको मन्त्रालयले जनाएको छ ।


नेपालमा हाल ३५ हजार १८ होम आइसोलेशन र चार हजार २८० जना संस्थागत आइसोलेशनमा छन् । त्यसैगरी ७५८ आइसियू र १९३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै सङ्क्रमणका कारण मृत्यु हुनेको कुल सङ्ख्या १० हजार २९२ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ ।

कूल मृतक सङ्ख्यामध्ये पाँच हजार ५२२ जना सो उमेर समूहका रहेका छन् । सबैभन्दा धेरै ज्यान गुमाउनेको दोस्रो सूचीमा ५० देखि ५९ वर्षका उमेर समूहका छन् । नेपालमा हालसम्म ५० देखि ५९ वर्ष उमेर समूहका २ हजार २८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी ४० देखि ४९ वर्ष उमेर समूहका एक हजार ४७२ र ३० देखि ३९ वर्ष उमेर समूहका ८५० तथा २० देखि २९ वर्ष उमेर समूहका ३१८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएका छ । १० देखि १९ वर्ष उमेर समूहका ५०, नौ वर्ष मुनिका ४५ र अज्ञात ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।