अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ



३२ साउन । प्रतिनिधिसभाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई यथाशीघ्र ल्याउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरुको सम्बन्धमा प्रतिनिधिसभा र आफ्नो ध्यानाकर्षण भएको बताए ।

‘अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूका सम्बन्धमा प्रतिनिधिसभासहित मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ सभामुख सापकोटाले भने, ‘त्यहाँ रहेका नेपालीहरु सुरक्षित रुपमा रहने वातावरण बनाउन र यथाशीघ्र सकुशल ल्याउने व्यवस्था गर्न र सो सम्बन्धी यथार्थ विवरण सभाको आगामी बैठकमा जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’


अफगानिस्तानमा विद्रोही समूह तालिवानले कब्जा जमाएपछि त्यहाँ असुरक्षा बढेको छ र धेरै देशले आफ्ना नागरिक फिर्ता लगेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पनि अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्ने निर्णय गरेको थियो ।